साउन १८, म्याग्दी । स्वच्छ हावापानी, शान्त वातावरणले धेरैको मन फुरुङ्ग बनाउने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक महत्वले युक्त ज्यामरुककोट अहिले आन्तरिक पर्यटकहरुको रोजाइको स्थल बन्दै गएको छ ।
पछिल्लो समय बेनीबजार सदरमुकामबाट छ किलोमिटर टाढा रहेको ज्यामरुककोट पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने मुख्य स्थल बनेको छ । यहाँ घुम्न पुग्नेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । आगन्तुकलाई याहाँ रहेका परम्परागत शैलीमा बनेका घरहरु, यहाँ बस्ने ब्राह्मण, क्षत्री र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले सधैँ न्यानो स्वागत गरिरहेको हुन्छ । यहाँबाट देखिने प्राकृतिको मनमोहक दृश्यहरु र यहाँको ऐतिहासिक महिमाका कारण यहाँ पुग्ने पर्यटकको मुखबाट ‘आहा ज्यामरुककोट’ शब्द सधैँ निस्कने गरेको छ ।
ज्यामरुककोटको आकर्षकण भनेको गाउँले जनजीवन, प्राकृतिक सुन्दरता, ऐतिहासिक कोतघर र गौश्वाराका परम्परागत ढुङ्गेघर, आफ्नै रहनसहन र परम्परा, यहाँबाट देखिने प्राकृतिक दृश्यहरु हुन् ।
ज्यामरुककोटको उत्तरतर्फ बेनी र बागलुङको शहरी दृश्य, आँखै अगाडी देखिने सेताम्ये हिमाल, पञ्चासे, रत्नेचौर, पञ्चकोट, पुलाचौर, ताकम, मल्लाज, ढोल्ठान, राँखुलगायत मुस्ताङ र पर्वतका दर्जनौं ग्रामीण क्षेत्रको प्राकृतिक दृश्यावलोकन तथा यहाँका घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाएको छ । यहाँ पुग्ने हरेक पर्यटकहरु गाउँको ढुङ्गेघरले मन लोभ्याएको बताउँने गर्छन ।
सदरमुकामबाट नजिक भएकाले पैदलयात्रा गरेर पनि पर्यटक गाउँ पुग्ने गरेका छन । ज्यामरुककोट पुग्न बेनीबाट करिब एक घन्टाको पैदल यात्राबाट लभ्लीहिल हुँदै जानुपर्ने हुन्छ ।
गाउँको सुन्दरतासँगै यहाँबाट सूर्यास्त र सूर्योदय, पोखरा उपत्यको अवलोकनका साथै हिउँ पर्ने समयमा गौश्वारामा हिउँसमेत खेल्न सकिन्छ ।
पर्यटकहरुका लागि खान र बस्न यहाँ होटल तथा होमस्टेहरुको राम्रो व्यवस्था रहेका छ । यस्ता होटल र होमस्टेमा स्थानीय जातका कुखुराको मासु, कोदोको ढिंडो, भट्मासको अचार, गुन्द्रुक, सिस्नो र मासको दाल, वर्षाको समयमा टुसाको अचार र निगुरो तथा कोदोको रक्सीको स्वाद लिन सकिन्छ ।
- न्युज बहार संवाददाता