असार १६, नवलपुर । जिल्लाको मध्यविन्दु–३ बाट आएकी लक्ष्मी उपाध्याय यसअघि गैँडाकोट तथा नारायणगढ आउँदा टाढैबाट मन्दिर दर्शन गरेर जाने गारेकी थिइन। ६१ वर्षीया उपाध्याय यापाली भने गत सोमबार मौलाकालिका मन्दिरमा पूजा गर्न पुगिन् । १७ वर्षपछि आज मन्दिर पुगेको बताइन् उनले ।
नवलपरासी गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिस्थल मौलाकालिका मन्दिरमा हिँडेर जानुपर्ने भएकाले आफू १७ वर्षसम्म मन्दिर दर्शनका लागि जान नसेकेको उपाध्यायको भनाइ थियो। यस पटक भने मन्दिरसम्मै पुग्न सकिने केबलकार सञ्चालनमा आएको सुनेर आफू मन्दिर दर्शनका लागि आएको उनले बताएकी हुन।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले गैँडाकोट–१ को धारापानीबाट मन्दिर नजिकैको हेलिप्याडसम्म केबलकार सञ्चालनमा आएपछि मन्दिरमा दर्शन तथा पूजाआजाका साथै धार्मिक पर्यटनमा आउनेको सङ्ख्या बढेको जनाएको छ ।
पहिलेको तुलनामा अहिले दोब्बरले भक्तजनको सङ्ख्या बढेको समितिका आन्तरिक लेखा समिति संयोजक शोभाकान्त काफ्लेले बताए । उनले भने “अघिल्ला वर्षमा सय समयमा सामान्य दिनमा दैनिक पाँच सयको हाराहारी मानिस मन्दिरमा आउने गरेका थिए, अहिले दैनिक एक हजारभन्दा बढी मानिस मन्दिरमा आउने गरेका छन् । सार्वजनिक बिदाको दिन र चाडपर्वमा त मन्दिरमा निकै भिडभाड हुने गरेको छ ।”
मन्दिरमा वैशाखदेखी केबलकार सञ्चालनमा आएपछि भक्तजन बढ्न थालेका हुन् । मन्दिरमा दैनिक नित्य पूजा, शिवालय मन्दिरमा रुद्री, हवन, विवाहजस्ता शुभकार्य हुने गरेका छन् । मन्दिरमा माता कालीको दर्शनसँगै वैवाहिक वर्षगाँठ मनाउन, जन्मदिन मनाउन, भाकल गर्न, भाकल बुझाउन, पितृको उद्धारका लागिसमेत भक्तजन आउने गरेका छन ।
- न्युज बहार संवाददाता