साउन २३, काठमाडौँ । भक्तपुरको विभिन्न स्थान डुबानमा परेको छ । निरन्तर परेको अबिरल वर्षाका कारण भक्तपुरको
चाँगुनारायण नगरपालिकामा पहिरोले एउटा घर भत्किएको हो । वडा नम्बर १ बस्ने
बीरबहादुर केसीको चार कोठे घर भत्किएको छ ।
प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले बीरबहादुरको घर पछाडि रहेको ढिस्को खस्दा उनको जस्ताले छाएको एक तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको जानकारी दिएका छन । पहिरोले मानवीय क्षति भने हुन नपाएको जानकारी आएको छ ।
वर्षाले भक्तपुरका विभिन्न ठाउँ सिद्धी स्मृति अस्पताल, बाराहीस्थान लगायतका क्षेत्र डुबानमा परेका हुन् ।
त्यसैगरी भारी वर्षाका कारण काठमाडौँको बल्खुमा रहेको तरकारी बजार पनि डुबानमा परेको छ ।
बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले आज बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको जानकारी दिएका छन ।
तरकारी बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको उनले बताएका छन ।
- न्युज बहार संवाददाता