असोज २५, काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६, चुम्चेतमा गएको
पहिरोपछि बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको छ। विङ्गिलुङ खोलाबाट सुरु भएको
बाढी स्यार खोला हुँदै बूढीगण्डकी नदीमा मिसिएको हो। विङ्गिलुङ र स्यार दुवै
बूढीगण्डकी नदीका सहायक खोला हुन्।
बाढीका कारण बूढीगण्डकी नदी आसपासका बस्ती, पदमार्ग, पुललगायत विभिन्न
संरचनामा क्षति पुगेको छ। हालसम्म बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना
सम्पर्कविहीन भएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले दुईवटा
मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको छ। बाढीले धादिङको त्रिपुरासुन्दरी र
गोरखाको आरुघाटस्थित सोती तथा मान्बु जोड्ने पक्की पुलसमेत बगाएको छ।
त्यस्तै, आरुघाटस्थित मध्यपहाडी लोकमार्गमा पर्ने पुल पनि बूढीगण्डकी नदीको बाढीले
बगाएको छ। धार्चे गाउँपालिका–१ हुल्चोक र वडा नम्बर ३ उहिया जोड्ने
बेलिब्रिजमा समेत बाढीले क्षति पुर्याउँदै बगाएको छ।
यसैगरी, धार्चे गाउँपालिका–५ माछीखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। बाढीका कारण
नदी आसपासका क्षेत्रमा थप क्षति पुगेको छ।
- न्युज बहार संवाददाता