भदौ १०, काठमाडौँ । रसुवाको सीमा क्षेत्रबाट आएको भीषण
बाढीका कारण नुवाकोटका त्रिशूली नदी आसपासका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति
भएको छ। बाढीले बेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाटलगायतका प्रमुख बजार
तथा तटीय क्षेत्र प्रभावित भएका छन्।
नुवाकोटका
प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार रसुवाको सीमा क्षेत्रबाटै
बाढीको बहाव तीव्र बनेको थियो। नदीको पानी तटीय क्षेत्र हुँदै बजारभित्र प्रवेश
गरेपछि विभिन्न भौतिक संरचनामा क्षति पुगेको जानकारी प्राप्त भएको उनले बताए।
उनका
अनुसार बेत्रावती बजारदेखि देवीघाटसम्मका नदी किनारका क्षेत्रमा बाढीको असर
देखिएको छ। विशेषगरी त्रिशूली बजार, ढुङ्गे, बेत्रावती र देवीघाट क्षेत्रमा भौतिक
संरचनामा क्षति पुगेको सुरक्षाकर्मीबाट जानकारी आएको प्रजिअ रेग्मीले बताए।
बाढीका
कारण भएको क्षतिको विस्तृत विवरण भने अझै संकलन भइरहेको छ। हालसम्म मानवीय क्षति
भएको आधिकारिक पुष्टि हुन सकेको छैन।
प्रजिअ
रेग्मीले बाढीको अवस्था निकै भयावह रहेकाले मानवीय क्षतिको सम्भावनालाई भने
तत्कालै नकार्न नसकिने बताए। उनले भने, ‘अहिलेसम्म मानवीय
क्षतिको कुनै जानकारी आएको छैन। तर बाढीको अवस्था हेर्दा केही क्षति भएको हुनसक्ने
अनुमान गर्न सकिन्छ। अहिले नै यकिन विवरण भन्न सक्ने अवस्था छैन र त्यससम्बन्धी
आधिकारिक जानकारी पनि प्राप्त भइसकेको छैन।’
सुरक्षाकर्मी
तथा स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा अवस्थाको निरीक्षण तथा क्षतिको विवरण
संकलन गरिरहेको जनाइएको छ।
- न्युज बहार संवाददाता