फागुन
१, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रका
साझा सम्पत्ति जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि भएको बताएका छन् । फागुन १
गते सोमबार जनयुद्धको २८औं वार्षिकोत्सवको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै
प्रधानमन्त्री दाहालले यसलाई साझा दिवसको रूपमा मनाउन अपिल गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत
रहेका प्रचण्डले जनयुद्धको
२८ औँ वार्षिकोत्सवको अवसरमा युग परिवर्तनको प्रतिनिधित्व गर्ने
जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली रहेको बताएका छन् ।
उनले
जारी गरेको शुभकामना सन्देशमा उनले भनेका छन्, ‘नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण
मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस हो। यही यथार्थलाई दृष्टिगत
गरी नेपाल सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदा
दिने निर्णय गरेको छ। तसर्थ, जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय
उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछु।’
२०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरू गरिएको थियो । प्रचण्डले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् । त्यस्तै घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना पनि गरेका छन्।