असोज २४,
काठमाडौँ । अख्तियार प्रमुख प्रेमकुमार राईलाई राष्ट्रिय स्वतन्त्र पार्टीका
सभापति रवि लामिछानेले ठुला भ्रष्टाचारको मुद्दाको अनुसन्धानमा ढिलाइ गरेको भन्दै
प्रश्न गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको आज बुधबार सिंहदरबारमा आयोजित बैठकमा पाँचवटा ठुला भ्रष्टाचार प्रकरणको अनुसन्धानमा लामिछानेले प्रश्न उठाएका हुन् ।
वाइड बडी प्रकरण, लडाकु शिविरमा भएको भनिएको घोटाला, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा भएको भ्रष्टाचार र यत्ति ओम्नी प्रकरणबारे रविले प्रश्न गरेका हुन् ।
अख्तियारले २०७३ भदौमा पत्रकार सम्मेलन गरेर शिविरमा भएको घोटालाबारे ‘छानबिन जारी रहेको’ बताएको तर, अहिलेसम्म त्यसबारे कुनै निर्णय नगरेको लामिछानेले बताएका छन । उनले अख्तियारका पदाधिकारीलाई सोधे–‘लडाकु शिविरको घोटाला तुहियो कि बाँकी छ, छानबिन जारी छ भन्ने जवाफ कहिलेसम्म दिनुहुन्छ ?’
वाइड बडी प्रकरणमा उनले प्रशन गर्दै भने ‘वाइड बडी कहाँ पुग्यो ? यती प्रकरणमा नेपाल ट्रस्टको ऐन संशोधन गरेर गोकर्णको जग्गा सस्तो मूल्यमा दिएको बारे अनुसन्धान किन पुरा हुन सकेन?’
त्यसैगरी ओम्नी प्रकरणमा कानुन मिचेर स्वास्थ्य सामग्री खरिद गरिएकोमा यसको फाइल बन्द भयो कि, के भयो ?’ भनि लामिछानेले प्रशन गरेका छन ।
त्यस्तै अर्को भ्रष्टाचार अखिल नेपाल फुटबल सङ्घमा भएको ५८ करोड भ्रष्टाचारमा आपत्ति जनाउँदै रविले भने–‘एन्फामा फिफाले भ्रष्टाचार देख्यो तर, अख्तियारले किन देखेन ?’
- न्युज बहार संवाददाता