असोज ४, ताप्लेजुङ । चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गलको बिचमा रहेको छ फुङफुङ्गे झरना । यस्तो मनमोहक वातावरणले याहाँ पुग्ने सबैको मनै लोभ्याउँछ । फुङफुङ्गे झरना पछिल्लो समय ताप्लेजुङ जिल्लाको आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । चट्टानी काँपको तीन सय मिटर जति अग्लो स्थानबाट जोड्ले तल झरेको झरनाको आवाज नै फुङफुङ गरे जस्तो सुनिने गरेको हुनाले यस झरनाको नामकरण फुङफुङ्गे भएको बताइन्छ ।
पर्यटकका लागि ताप्लेजुङ जिल्लाको सदरमुकामबाट नजिकै रहेको मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङ्गे झरना अहिले आकर्षणको केन्द्र बनेको छ । यो सुन्दर झरनाबाट झरेको पानी मेवा खोलामा मिसिन पुग्छ ।
यस झरनालाई नेपाल सरकारले पर्यटकीय प्रवल सम्भावना भएका सय स्थानको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ ।
अहिले यस क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेसँगै झरना अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आउन थालेका छन् । सडकको राम्रो सुविधा पुगेकाले झरना नजिकै तेम्बा क्षेत्रमा बजार नै विस्तार हुन थालेको छ । मिक्वाखोला गाउँपालिका–४ का होमस्टे (घरबास) सञ्चालक विजय साँवाले स्थानीयले होटल तथा होमस्टेसमेत सञ्चालन गरेर मनग्य आम्दानी गर्दै आएको बताए ।
- न्युज बहार संवाददाता