जेठ
२८, काठमाडौँ ।
सर्वोत्तम
पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन
तथा बिक्री खुला गरेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका
लागि छुट्याइएको शेयर निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको थियो।
कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत
बराबर ८ लाख ५० हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्ने अनुमति प्राप्त
गरेको थियो। कुल निष्काशनमध्ये ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका
नेपालीहरूलाई वितरण गरिसकिएको छ भने ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूका
लागि छुट्याइएको छ।
कम्पनीले कर्मचारीहरूका लागि १७ हजार
कित्ता शेयर सुरक्षित राखेर बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारण
लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो।
लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र
अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति असार
२ गते तोकिएको छ। उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ११ गतेसम्म
थप गरिने जनाइएको छ।
शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको
जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ। लगानीकर्ताहरूले नेपाल
धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू तथा ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको वित्तीय
अवस्था मूल्याङ्कनका क्रममा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ स्तरको मूल्याङ्कन प्रदान गरेको छ। यसले
कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गरेको छ।
- न्युज बहार संवाददाता