असोज २१,
कैलाली । कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट बत्ती बाल्ने दियो
र धुपबत्ती बनाउन सुरुआत गरेको छ । तीन चरणको परीक्षणपछि सामुदायिक पशु चौपाया
व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले धुपबत्ती बनाउन थालनी गरेको
हो ।
भारतको
काशीपुर गएर तालिम लिएर आएका टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य
उपेन्द्र न्यौपानेले तालिममा सिकेको जसरी धुपबत्ती र गोबरका सामग्री निर्माणबारे सुरु
गरेका हुन ।
उक्त तालिमपछि धुपबत्ती र दियो बनाउन काम धमाधम भइरहेको छ । सदस्य उपेन्द्र न्यौपानेले पहिलो चरणमा सय ‘प्याकेट’ निर्माणपछि बजारमा बिक्री गर्ने तयारी रहेको जानकारी दिएका छन । उनले भने, “गाईको गोबर प्रयोग गरी बनाइएको धुपबत्तीको सुगन्ध हवन गरेको जस्तो आउँछ र वातावरणका हिसाबले पनि राम्रो मानिन्छ।”
गाई संरक्षणमा यसरी विभिन्न सामग्री निर्माण गरी भएको आम्दानी खर्च गरिनेछ योजना रहेको छ । यसरी बनाइएको धुपबत्ती स्वास्थ्यका हिसाबले बजारमा पाइने केमिकल मिसावट धुपभन्दा धेरै लाभदायक हुन्छ ।
५५ वटा घरमा गौशालाले गाईको गोबरबाट ग्यास वितरण सुरु गरेको छ । यससँगै गाईको गोबर तथा मल बिक्री पनि सुरु गरेको छ । अब दीपावलीलाई लक्षित गरेर धुपबत्ती र विभिन्न प्रकारका दियो बनाउन थालिएको हो । गौशालाका सचिव जोशीका अनुसार यससँगै गौशालाले शुभलाभका चित्र, नम्बरप्लेट, प्रमाणपत्र, भगवान्का मूर्तिलगायतका सामग्री निर्माण गर्ने योजना पनि छ ।
- न्युज बहार संवाददाता