कार्तिक
२१, ताप्लेजुङ । ताप्लेजुङ जिल्लाका किसानलाई अहिले अलैँची घर भित्र्याउन
भ्याइनभ्याइ परेको छ ।
किसानहरु
दसैँ सकिएसँगै अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त रहेका छन् । असोज–मङ्सिर महिना ताप्लेजुङमा अलैँची थक्याउने
मुख्य समय हुने गर्दछ । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा अलैँची खेती गरिन्छ
। बेँसी क्षेत्रमा साउनदेखि अलैँची टिप्ने
काम सुरु हुन्छ भने लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपिन्छ ।
किसानलाई
अहिले मध्यभागमा अलैँची थन्क्याउने मुख्य याम भएकाले चटारो परेको छ । पाथीभरा
याङवरक गाउँपालिका–१
थेचम्बुका ज्ञानबहादुर गुरुङले अलैँची सङ्कलन ढिलो भएमा वन्यजन्तुले खाएर क्षति
पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको बताए ।
उहाँले अलैँची थन्क्याउने यामका कारण चाडपर्व सहज
गरी मनाउनै नपाएको समेत बताए । फक्ताङलुङ गाउँपालिका–६ मादिबुङका वसन्त लिम्बूले मुख्य याम भएकाले
चाडपर्वमा पनि अलैँची बारी (बगान)मै बिताउनुपरेको बताए । अलैँची बगानमै तिहार मनाउने
उहाँको योजना छ ।
- न्युज बहार संवाददाता