भदौ १३, काठमाडौँ । आज सेयर बजारमा एकल अंकको सामान्य गिरावट आएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २.८२ अंक( ०.१४ प्रतिशत )ले गिरावट आउँदा १९९०.५९ को विन्दुमा पुगेर बन्द भएको छ ।
आज कारोबार रकम केही सुधार भएर १ अर्ब नाघेको छ । यस दिन नेप्सेमा ३२ हजार २९८ वटा कारोबारमा ३८ लाख ३ हजार २४४ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा १ अर्ब १३ करोडको कारोबार भएको छ ।
बुधबार नेप्सेमा १३ उपसूचक मध्ये व्यापार र होटल तथा पर्यटन उपसूचक बाहेक सबै उपसूचकमा गिरावट आएको छ । व्यापार र होटल तथा पर्यटन उपसूचक भने १.३० प्रतिशतले वृद्धि भएको छ ।
आज लाभांश घोषणा गरेको माछापुच्छ्रे बैंकमा लगानीकर्ताहरुको बढी आकर्षण देखिएको छ ।
त्यसैगरी आज सिद्धार्थ इक्विटी फण्डको इकाइमूल्य ७.९४ प्रतिशतले घटेको छ ।
- न्युज बहार संवाददाता