मंसिर
२४, झापा । सरोकारवालाहरुका अनुसार अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश
भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको छ । गत वर्षको तुलनामा चालु आर्थिक
वर्ष २०८०/८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान राष्ट्रिय चिया तथा कफी
विकास बोर्डले गरिरहेको अवस्थामा सरोकारवालाहरुले चिया क्षेत्रमा गम्भीर सङ्कट
निम्तिएको बताएका छन ।
चालु आर्थिक वर्षमा नेपालबाट अर्थोडक्स र सिटीसी चिया निर्यातबाट करिब रु आठ अर्बको विदेशी मुद्रा भित्रिने आकलन गरेको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले बताए । “सरकारले समयमै चियालाई चाहिने मलसहितका कार्यक्रम उपलब्ध गराएको छ” उनले भने, “यसले उत्पादन पनि बढ्ने अनुमान छ, उत्पादन बढेसँगै निर्यात बढी स्वतः भइहाल्छ।”
उनका
अनुसार सरोकारवालाले उठाएका सबैखाले समस्याको उचित सम्बोधन गर्दै राज्य पक्षलाई
समेत समस्याको जानकारी गराउने र चिया क्षेत्रका विद्यमान समस्या समाधानमा
प्रभावकारी भूमिका निर्वाह गरिएको छ । बोर्डको तथ्याङ्कमा उल्लेख भएअनुसार नेपालमा
गत वर्ष चिया निर्यातबाट मात्र रु तीन अर्ब ८० करोड रकम भित्रिएको छ ।
तर चिया किसान हर्क तामाङले बोर्डले गरेजस्तो आकलनले काम नगर्ने बताउँछन । तामाङका अनुसार बोर्डले कोठामा बसेर तथ्याङ्क तयार गर्ने, किसानका बगानसम्म पुगेर मूल्याङ्कन नगर्ने हुँदा यस्तो लक्ष्य लिनु स्वभाविक नरहेको हो । यस विषयमा तामाङले भने “बोर्ड अलैँचीपछि विदेशी मुद्रा ल्याउने चिया भन्छ, तर यही अवस्था रहने हो भने पाँच वर्षपछि चियाको बुट्टा भेट्न पनि गाह्रो होलाजस्तो भएको छ।”
तामाङका अनुसार सरकारले चियालाई कृषिको रूपमा सूचीकृत नगरेर उद्योगसरह विद्युतीय महसुल लगाउँदा सिँचाइमा समस्या, अक्सन बजारको अभावले अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन नसक्नु मुख्य समस्या हो । बोर्डले चिया विकासको निम्ति अहिलेसम्म केही काम गर्न नसकेको आरोप अखिल नेपाल ट्रेड युनियन केन्द्रीय उपाध्यक्ष भूपाल सापकोटाले लगाएका छन । बोर्डले व्यवसायी, उद्योगी, मजदुर, किसान, कसैको समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताएका छन ।
त्यसैगरी, चिया क्षेत्रको समस्या समाधानमा राज्य उदासिन देखिएको आरोप नेपाल चिया बगान श्रमिक सङ्घका केन्द्रीय अध्यक्ष दीपक तामाङले लगाएका छन । कतिपय बगानका श्रमिकले हालसम्म श्रम ऐनअन्तर्गतको ज्यालासमेत नपाइरहँदा बोर्डले समेत कानुन कार्यान्वयनमा समन्वय नगरेको गुनासो समेत गरेका छन ।
बोर्डका अनुसार नेपालमा २० हजार दुई सय ३७ हेक्टरमा चियाखेती लगाइएको छ । त्यसमध्ये कोशी प्रदेशमा ९९ प्रतिशत उत्पादन भइरहेको छ । चियाखेतीमा सत्तरी हजार नागरिकले रोजगारी पाइरहेका छन भने चियाका ३८ वटा सिटीसी, ३० वटा अर्थोडक्स उद्योग सञ्चालित छन् । बोर्डको तथ्याङ्क अनुसार नेपाली चियाको मुख्य बजार चीन, भारत, रसिया, नेदरल्याण्ड, श्रीलङ्कालगायतका राष्ट्रमा रहेको छ ।
- न्युज बहार संवाददाता