साउन ३, तनहुँ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ र ४ को सिमानामा पर्ने ‘ऐनापहरा’लाई अहिले गण्डकी प्रदेशकै नमूना पर्यटकीय गन्तव्यस्थल बनाउन उद्धश्यले काम थालिएको छ ।
उक्त झरना पृथ्वी राजमार्गदेखि नजिककै रहेको छ। यसलाई पर्यटकीय गन्तव्यस्थल बनाउने हेतु झरना आसपासमा भएका ढुङ्गामा कलात्मक मूर्तिलगायत आर्कषक संरचना निर्माण गरिँदै छ ।
गाउँपालिकाका इन्जिनियर पङ्कज मगरले ऐनापहरास्थित झरनाको आडैमा रहेको ठुलो ढुङ्गामा हात्तीको मूर्ति कुँद्ने काम सुरु गरिएको जानकारी दिए ।
प्राकृतिकरुपमा रहेका सो क्षेत्रका ढुङ्गा तथा पहरालाई कुँदेर विभिन्न देवीदेवताका आकर्षक मूर्तिहरु निर्माण गर्ने योजना समेत रहेको उनले बताएका छन ।
यसको लागी श्री शुभ साहिल कन्ट्रक्सन आँबुखैरेनीलाई उद्यान निर्माणको जिम्मा दिइएको छ ।
इन्जिनियर मगरले चालु आर्थिक वर्षमा गाउँपालिकाले उक्त क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न रु एक करोड १३ लाख बजेट विनियोजन गरी काम अघि बढाएको बताएका ।
उनले भने “ऐनापहरालाई दसैँदेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइएको छ ।
- न्युज बहार संवाददाता