असोज २५,
कास्की । सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट पोखराको साहसिक पर्यटनको
गन्तव्य बनेको प्याराग्लाइडिङ सञ्चालनको तयारी थालिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौंदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुङ्गा पुगेको प्याराग्लाइडिङ पछिल्लो समय पूर्ववत् अर्थात तोरीपानी स्थानबाट नै सञ्चालन गर्न लागिएको हो ।
पोखरा प्याराग्लाइडिङ उडानका लागि हावपानीका हिसाबले वर्षभरि उड्न मिल्ने, उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक हुँदा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइको विधा बन्दै आएको छ ।
अहिले उडान हुँदै आएको स्थान मान्द्रेढुङ्गा र अवतरणस्थल पामे दूरीका हिसाबले टाढा रहेको र सुरुआतदेखि नै सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौँदीमा अवतरण हुने गरेकोले यसे स्थानबाट पुन सुरु गर्न लागिएको हो। यसरी प्याराग्लाइडिङ सराङकोटबाट फेवाताल किनारमा अवतरण हुँदाको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई उत्साहित बनाउने गरेको छ ।
- न्युज बहार संवाददाता