माघ
६, काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक उकालो लागेर बन्द
भएको छ। आइतबार वृद्धि भएको बजारले मंगलबार पनि सोही गति कायम राखेको हो। नेप्से
परिसूचक ४२.२६ अंकले बढ्दै २७१४.८१ बिन्दुमा पुग्यो। यससँगै सेन्सेटिभ इण्डेक्स
७.८२ अंक, फ्लोट इण्डेक्स ३.१९
अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले उकालो लागेको छ।
यस दिन बजारको कारोबार रकम पनि उल्लेख्य
रूपमा बढेको छ। आइतबार ८ अर्ब ४० करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३३९
कम्पनीका २ करोड ५१ लाखभन्दा बढी कित्ता शेयर ११ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीमा
किनबेच भएका छन्।
मंगलबार गोर्खाज फाइनान्सको शेयर
सकारात्मक सर्किटमा कारोबार भयो। कम्पनीको शेयर मूल्य ५६ रुपैयाँ २० पैसाले बढेर
६१८ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। आँखा खोला जलविद्युत कम्पनीको शेयर
८ प्रतिशतभन्दा बढीले बढ्दा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर पनि
झण्डै ८ प्रतिशतले उकालो लागेको छ। यद्यपि,
१०.७५
प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य ४.२३ प्रतिशतले घटेको छ।
कारोबार रकमको आधारमा एनआरएन
इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट अग्रस्थानमा रहँदै ४० करोड ७९ लाख रुपैयाँ
बराबरको कारोबार गरेको छ। राधी विद्युत कम्पनीको कारोबार रकम ३९ करोड रुपैयाँ
नाघेको छ भने मञ्जुश्री फाइनान्सको कारोबार ३७ करोड रुपैयाँभन्दा बढी भएको छ।
यस दिन सबै १३ उपसमूहका परिसूचक बढेका
छन्। तीमध्ये होटल तथा पर्यटन समूह सबैभन्दा बढी ३.३६ प्रतिशतले उकालो लागेको छ।
लगानी उपसमूह साढे २ प्रतिशतले बढ्दा बैंकिङ,
विकास
बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल
फण्ड, निर्जीवन बीमा तथा
अन्य उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन्।
- न्युज बहार संवाददाता