चैत ७, मकवानपुर । भोलि बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरेका छन । उनले मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै दोस्रो पटक संसदबाट विश्वासको मत लिन लागेका हुन् ।
उनले प्रदेशसभा सचिवालय हेटौंडामा बुधबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने गरी प्रस्ताव पेस गरिसकेका छन् । उनको विश्वासको मत सम्बन्धी प्रस्ताव बुधबार दिउँसो ३ बजे बस्ने बैठकमा टेबल हुने छ ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले प्रदेशसभा सचिवालयले चैत ८ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाएको जानकारी दिएका छन ।
मुख्यमन्त्री जम्कट्टेलले तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।
- न्युज बहार संवाददाता