बैशाख ३, रौतहट। रौतहटको गढीमाई नगरपालिकामा दुई पक्षबिच जमिनसम्बन्धी विवादमा गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको बताएका छन।
झडपमा गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ प्रहरीले बताएको छ। विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको र वीरगञ्ज लाने क्रममा उनको बाटोमै मृत्यु भएको एसपी बुढामगरले बताएका छन।
कसले गोली चलायो भन्ने खुल्न सकेको छैन। गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ।
गोली लागेर स्थानीयवासी कपिलदेव राय यादव, रामप्रताप यादव, र नीरञ्जन यादव तिन जना घाइते समेत भएका छन् । यस घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले घटनामा प्रयोग भएको १२ बोरको हतियार बरामद गरिसकेको र एसपी बुढामगरले घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नायब उपरीक्षकको टोली घटनास्थल तर्फ पठाइएको बताएका छन।
- न्युज बहार संवाददाता