चैत २९, बैतडी । गएको राती बैतडीमा जिप दुर्घटना हुँदा ६ जना
यात्रुको मृत्यु भएको छ।
गए राति बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ मा पर्ने झौलेकस्थित सडकको घुम्तीबाट जिप तल खसेर दुर्घटना भएको थियो।
जिप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको पाटन नगरपालिका ८ का अध्यक्ष हरिश बिष्टले बताएका छन।
अध्यक्ष हरिश बिष्टले भने ‘दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ, मृतकहरू सबै एकै गाउँको रहेको जानकारी पाइएको छ, जिपबाट चार जनाले हामफालेर ज्यान जोगाएका छन् र उनीहरूको अवस्था सामान्य रहेको छ।’
से १ ज ७६४ नम्बरको जिप झुलाघाटबाट बझाङस्थित बाग्थला जाने क्रममा दुर्घटनामा परेको प्रहरीले बताएको छ।
दुर्घटनामा मृत्यु हुनेहरु सबै बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ५ बाँझ भन्ने गाउँका गएको जानकारी प्राप्त भएको छ। बैतडी प्रहरीले जिपका चालक सम्पर्कविहीन रहेकोले खोजि कार्य भईरहेको जनाएको छ।
- न्युज बहार संवाददाता