फागुन ४, काठमाडौँ । ल्होत्से मलमा भएको
लुटपाटमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएको सोमबार
भएको यातायात व्यवसायीको आन्दोलनका क्रममा बाहिर आन्दोलन चर्की रहेको बेला लोत्से मलमा
प्रवेश गरेर नियतवस मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा
लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी मनोज केसीले
बताएका छन ।
मनोज
केसीले भने, ‘भिडियोमा
देखिएका मुख्य मुख्य व्यक्तिलाई समातिसकेका छौं, थप केही निगरानीमा छन् ।’ पक्राउ परेका मध्ये ७ जना बाइसधारा,
महानगर, र
तारकेश्वर यातायातका चालक र सह–चालक छन् । पक्राउ परेका मध्ये अरु केही तोडफोड र आगजनीमा समेत
संलग्न व्यक्ति पनि छन् ।
सोमबार
भएको घटनामा जिल्ला प्रहरी परिसर, काठमाडौंले चार जनालाई पहिल्यै नियन्त्रणमा लिएर हिरासतमा
राखेको छ । मोबाइल चोर्दा चोर्दै सुरक्षागार्डले नियन्त्रणमा लिएर उनीहरुलाई
प्रहरीको जिम्मा लगाएका थिए । आन्दोलनका चर्को बन्दै गएपछी परिस्थिति प्रहरीको
नियन्त्रण बाहिर गएको मौका छोपेर उनीहरुले दुई वटा पसलमा तोडफोड र लुटपाट गरेका
थिए । उक्त पसलबाट लाखौको सामान चोरी भएको व्यापारीहरुले बताएका छन ।