असोज २१, काठमाडौँ । दसैंको लागि नयाँ नोट असोज २९ गतेबाट साट्न पाइने भएको छ।
आइतबार नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै असोज २९ गतेदेखि नयाँ नोट साटिने उल्लेख गरेको हो ।
राष्ट्र बैंकले यस वर्षको दसैंको लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रूपैयाँ सटही सुविधा दिने भएको छ।
पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक/एक बण्डलको नयाँ नोट सर्वसाधारणले पाउने भएका छन ।
करिब १० अर्बभन्दा बढी रुपैयाँको नयाँ नोट दसैंको लागि मात्रै भनेर राष्ट्र बैंकले बजारमा पठाउने गरी तयारी गरेको छ।
नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग र यस बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यलय मार्फत नयाँ नोट सटही सुविधा प्रदान गरिने छ ।
त्यसैगरी काठमाडौँ उपत्यकाबाहिरको हकमा यस बैंकको प्रदेशस्थित कार्यलय वा वाणिज्य बैंकले तोकेको कार्यलय मध्ये पायक पर्ने स्थानमा गई नोट सटहीको सुविधा लिन सकिने छ ।
मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले यसपटक राष्ट्र बैंकले क्युआर कोडमार्फत् रकम भुक्तानी गरेर समेत नयाँ नोट साट्न सकिने जानकारी दिएका छन । राष्ट्र बैंकको बालुवाटार कार्यालयमा मात्रै यो सुविधा प्राप्त हुनेछ।
- न्युज बहार संवाददाता