असोज २९, काठमाडौँ । दसैँ, तिहार र छठ पर्वका लागी आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै आजदेखि नयाँ नोट साट्ने व्यवस्था थालेको हो । काठमाडौँ उपत्यकाभित्र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभागबाट नयाँ नोट सटही गर्न सकिनेछ ।
त्यसैगरी राष्ट्र बैङ्कका अनुसार काठमाडौँ उपत्यका बाहिर नयाँ नोट साट्न राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा जानुपर्ने छ ।
हरेक वर्ष चाडबाडमा राष्ट्र बैङ्कले नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले एक जना व्यक्तिलाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको जनाएको छ ।