असोज २०, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका बस्तीहरूमा बसोबास गर्ने किसानहरू जङ्गली हात्तीको त्रासका कारण रातभर निन्द्राविहीन बस्न बाध्य छन्। हात्तीहरूले खेतमा लगाइएका धान, मकै, उखुजस्ता बाली खाएर वा कुल्चेर नोक्सान पुर्याउने गरेका छन्। परम्परागत तरिकाले हात्ती धपाउन कठिन भएपछि स्थानीय किसान नयाँ उपायको खोजीमा छन्।
सुदूरपश्चिम प्रदेश सामुदायिक वन
राष्ट्रिय महासंघका महासचिव तथा वन्यजन्तु विज्ञ पुनाराम चौधरीका अनुसार हात्तीबाट
जोगिन माहुरी पालन प्रभावकारी उपाय हुन सक्छ। उनले भने, “जहाँ माहुरी हुन्छ, हात्ती त्यहाँ नजाने गरेको देखिन्छ, किनकि हात्तीलाई माहुरीको भुनभुन आवाज
मन पर्दैन।”
उनका अनुसार, कञ्चन सामुदायिक वन (लालझाडी गाउँपालिका–४,
डाँडाजाइँ)
मा केही वर्षअघि माहुरी पाल्ने प्रयोग सफलतापूर्वक गरिएको थियो। त्यो समय नियमित
रूपमा हात्ती आउने बाटामा माहुरीका घार राखेपछि हात्तीले सो बाटो छाडेको थियो। तर, स्थानीयले त्यस अभ्यासलाई निरन्तरता
नदिँदा अहिले फेरि हात्तीको समस्या दोहोरिएको उनले बताए।
चौधरीका अनुसार, माहुरीपालनले हात्ती भगाउने मात्र होइन, मह उत्पादन गरी स्थानीयले आम्दानी पनि
गर्न सक्छन्, त्यसैले यस विधिलाई
थप प्रोत्साहन र विस्तार गर्नुपर्ने आवश्यकता छ।
यस्तै, नेपाल–भारत
सीमावर्ती क्षेत्रका भारतीय समुदायसँगको छलफलमा अर्को उपायका रूपमा खुर्सानी, मोबिल र तमाखु मिसाएर तयार पारिएको
डोरीलाई बारबारको रूपमा प्रयोग गर्ने सुझाव पनि आएको थियो। यो उपाय वि.सं. २०७४ सालतिर
पुनर्वास नगरपालिकाका सामुदायिक वनहरूमा परीक्षण गरिएको थियो।
- न्युज बहार संवाददाता