फागुन ६, म्याग्दी । म्याग्दीका हिमबहादुर
छन्त्यालको दैनिकी दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने र राती
त्रिपाल मुनि बित्ने गरेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङका उनले यसरी जङ्गलमा
भेडीगोठमा बस्न थालेको आठ वर्ष बितिसकेको छ । करिब करिब दुई दशक लामो वैदेशिक
रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएका उनले भने आफ्नो
पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठमा नै बस्ने निर्णय गरेका
हुन ।
उनीले सहरको
सुविधासम्पन्न जीवनशैली त्यागेर परम्परागत घुम्ती गोठ राखेर भेडापालन गर्ने पेसा
अँगालेका हुन । उनको अधिकांश समय उच्च पहाडी, पहाडी र हिमाली क्षेत्रका जङ्गल,
वन, बुकी र खर्कमा बित्ने गरेको छ ।
करिब पाँच सय ५० बढी भेडाबाख्रा रहेको ‘मल्कबाङ भेडाबाख्रा’ फार्म उनले सञ्चालन गर्दै आएका
छन्। सोही गोठका भेडाबाख्रा लिएर उनी हिउँदमा बेँसीका फाँटसम्म त कहिले बर्खा
लागेपछि हिमालका बुकीहरूमा पुग्ने गरेका छन ।
मुस्ताङका
हिमाली जङ्गलमा करिब तीन महिनासम्म हुर्काएका भेडाहरूलाई यतिबेला उनले आफ्नै गाउँ
मल्कबाङको फाँटमा ल्याएको छन । अहिले मल्कबाङ गाउँको फेदी हुँदै बग्ने खालीखोलाको
किनारमा रहेका बारीको फाँटमा उनले भेडीगोठ राखेका छन । किसान छन्त्यालका अनुसार मुस्ताङबाट
गोठ हिँडाएको एक महिनामा उनी गाउँमा आउन सफल भएका हुन ।
उनी घुम्ती
गोठ राखेर गरिने परम्परागत पशुपालन हराएर जाने अवस्थामा आएपछि आफूले पुख्र्यौली
पेसाको निरन्तरता र स्थानीयस्तरमै आत्मनिर्भर बन्ने उद्देश्यले भेडापालन गरेको बताउँछन
। उनका अनुसार पहिले गाउँका सबैको गोठ थिए, भेडाबाख्रा र गाईभैँसीलाई
घुम्ती गोठ राखेर पालन गरिन्थ्यो, तर अहिले त्यो परम्परागत पेसा हराएर जान थालेको छ ।
उनीले आफ्नो बाबुबाजे
सबैले यहीँका भिर–पाखामा
पसिना बगाउनुभएको र आफ्ना जिजुहरूले पनि भेडापालन नै गर्नुभएले पुर्खाको पेसालाई
पछ्याउँदै आफु पनि भेडीगोठ पसेको बताए ।
- न्युज बहार संवाददाता