मंसिर
१८, काठमाडौँ । मंसिर ४ गतेदेखि हिमालयन रि इन्स्योरेन्स लिमिटेडले निष्काशन तथा
बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अर्थात मंसिर १८ गते अन्तिम दिन रहेको छ।
कम्पनीले
पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा
बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।पहिलो चरणमा कम्पनीले
हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ
बराबरको ३ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो। सोमध्ये कम्पनीले
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता, कम्पनीमा कार्यरत
कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका
लागि १५ लाख कित्ता शेयर निष्काशन गरेको हो।
कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँमा अर्थात प्रतिशेयर
१०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी शेयर निष्काशन गरेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन
सकिनेछ।
इक्रा नेपालले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई
इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन
गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको भन्न बुझिन्छ।
एनएमबि क्यापिटल लिमिटेड कम्पनीको शेयर निष्काशन तथा
बिक्री प्रबन्धक रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यस कम्पनीको
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य
बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड
क्लियरिङ्गको ‘मेरो
शेयर’ अनलाइन
प्रयोग गरी आवेदन दिन सक्नेछन्।
- न्युज बहार संवाददाता