माघ ११, काठमाडौँ । तीन
जना मेयरले आज भएको राष्ट्रियसभा निर्वाचनको मतदान बहिस्कार गरेका छन् । गत वर्षको
स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका तीन जना मेयरले मतदान
बहिस्कार गरेका हुन ।
धनगढी उपमहानगरपालिकाका
मेयर गोपाल हमाल ‘गोपी’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’
र काठमाडौँ महानगरपालिका
मेयर बालेन्द्र शाह ‘बालेन’ ले आजको मतदान बहिस्कार गरेका हुन् ।
निर्वाचनका लागि आज
बिहान ९ देखि ३ बजेसम्म मतदानको समय तोकिएको थियो । तर ३ बजे सम्म तिनै जना मेयर सम्बन्धित
प्रदेशको मतदान केन्द्रमा नगएको स्रोतले बताएका छन ।
गोपीको मतदान केन्द्र
सुदूरपश्चिमको धनगढीमा, बालेनको मतदान केन्द्र बागमती प्रदेशको हेटौडा र हर्कको
मतदान केन्द्र कोशी प्रदेशको विराटनगर रहेको थियो । कार्यव्यवस्ता देखाउँदै तीनै जना मेयरले मतदान बहिस्कार गरेका छन् ।
- न्युज बहार संवाददाता