असार २३,
काठमाडौँ। संविधान र कानुनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी संयमित भई बजेट
ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई काठमाडौँ महानगरपालिकाकी
उपप्रमुख सुनिता डङ्गोलले अपिल गरेकी छन् ।
डङ्गोलले
सामाजिक सञ्जाल मार्फत एक सन्देश सार्वजनिक गर्दै यस विषयमा यसो भनेकी छन्, ‘म सबै जनप्रतिनिधि साथीहरूलाई
आग्रह गर्न चाहन्छु कि हामीले संविधान र कानुनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी, वातावरण बिगार्ने होइन सम्हालेर, आवेग र उत्तेजनामा होइन संयमित
भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ । डुङ्गा प्वाल पारेर अरूलाई खसाल्ने र
आफू मात्रै बाच्ने दुर्भाग्यको बाटो रोज्ने, खोज्ने प्रयास नगरौँ । हामी सबै
हातेमालो गरेर अघि बढौँ ।’
उनले मेयर लगयात प्रवक्ता तथा केही कार्यपालिका सदस्यज्यूहरूसँगको अनौपचारिक भेटघाटमा बोर्ड बैठक र नगरसभा छिटो सम्पन्न गर्ने विषयमा विस्तृत छलफल गरेको जनाएकी छन । साथै उनले प्रमुख प्रशासकीय अधिकृतलाई मात्र दोष देखाएर बजेटलगायतका महत्त्वपूर्ण कार्यलाई अवरोध पुर्याउनु नहुने र यदी प्रमुख प्रशासकीय अधिकृत दोषी भएमा उनलाई कानुनले कारबाही गर्ने बताएकी छन।
- न्युज बहार संवाददाता