असार ३१, काठमाडौँ। यस चालु आर्थिक वर्षको लागि खर्चको भुक्तानी गर्नुपर्ने समय सकिएको छ। आइतबार कुनै पनि भुक्तानी गर्न नपाउने भएको हो। संघीय सरकारलाई अत्यावश्यक, रकमान्तर र स्रोतान्तर गरेको खर्च भुक्तानी गर्न सुविधा शनिबारसम्म मात्र रहेको थियो। त्यसैले आज कुनै पनि भुक्तानी नहुने भएको हो।
सहमहालेखा नियन्त्रक शम्भु मरासिनीले भन्छन ‘आर्थिक वर्षको अन्तिम दिन कुनै पनि प्रकारको भुक्तानी हुँदैन।’ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीमा यही व्यवस्था गरिएको छ।
आज आइतबार चालु आर्थिक वर्षको लागि अन्तिम दिन हो। महालेखा नियन्त्रकको कार्यालयले आइतबार भुक्तानी नहुने भएपछि शनिबार नै भुक्तानी दायित्व सकिएको जनाएको छ। प्रणालीबाट शनिबार ९ अर्ब ७८ करोड ११ लाख रूपैयाँ भुक्तानी गरिएको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा हिसाब मिलान गर्ने तथा खर्च लेखि राजस्व खातामा रकम जम्मा गर्ने प्रयोजनबाहेक आर्थिक वर्षको अन्तिम दिन भुक्तानी निकास दिइने छैन।
यससँगै चालु आर्थिक वर्षको लागि नेपाल सरकारको बजेट खर्च १४ खर्ब २८ अर्ब रूपैयाँ पुगेको छ।
यो गत वर्षको तुलनामा १० प्रतिशत अर्थात एक खर्ब २८ अर्ब रूपैयाँले बढी हो।
- न्युज बहार संवाददाता