असार १२, काठमाडौँ । अब सबै प्रकारका
सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ । सरकारले सबै
प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो ।
राष्ट्रिय
परिचयपत्र लिइसक्नुपर्ने समय तोक्दै त्यस्तो सेवा लिन सरकारले समय सीमा समेत
सार्वजनिक गरेको छ । अब नेपाली नागरिकता प्रमाणपत्रको सट्टा सरकारको स्वामित्वमा
रहेका निकाय, संस्था तथा
निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्नका
लागि राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने भएको छ ।
राष्ट्रिय
परिचयपत्र पेस गर्नुपर्ने सार्वजनिक सेवाभित्र सामाजिक स्वास्थ्य बीमा र
निवृत्तिभरण सुविधा र सुरक्षा भत्ता साथै, राजस्व सम्बन्धी सवारी चालक
अनुमति पत्र, व्यक्तिगत
आयकर दर्ता, कम्पनी दर्ता तथा नवीकरण पनि रहेका छन ।
अब सामाजिक
सुरक्षा कोषको सेवा, बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड लिन समेत राष्ट्रिय
परिचयपत्र र नम्बर अनिवार्य गरिएको छ भने घरजग्गा किनबेचमा समेत यस्तो प्रावधान
लागु भएको छ । अब १ साउन २०८१ बाट देशैभरि सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय
परिचयपत्र हुनुपर्छ ।
- न्युज बहार संवाददाता