मुक्तिनाथ विकास बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा ३.९६ प्रतिशत
वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत
वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ६० करोड
२४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । तर, यसवर्ष बैंकले ६३ करोड
६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । संख्यात्मक रुपमा यो बढोत्तरी निकै कम भए पनि
विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकको नाफा सबैभन्दा बढी हो । यो सँगै बैंकको
वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकको
नाफामा वृद्धि भए पनि प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । बैंकको ईपीएस १
रुपैयाँ ७९ पैसाले घटेर १९ रुपैयाँ ५१ पैसामा सिमित भएको छ । त्यस्तै, पुस मसान्तसम्ममा
बैंकको मूल्य आम्दानी अनुपात २१.५३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ३४
रुपैयाँ ९६ पैसा रहेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३३.३७ प्रतिशतले बढेको छ । सोही अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २२.७५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.९६ प्रतिशत मात्रै बढेको छ । सोही अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १६ करोड ४१ लाखबाट बढेर ४४ करोड १७ लाख रुपैयाँ पुगेको छ ।